Sunday, January 24, 2016

शवको अन्त्येष्टि गर्न विद्युतीय मेसिन प्रयोगमा

पशुपतिनाथमा शवको अन्त्येष्टि गर्न आजबाट विद्युतीय मेसिन प्रयोगमा आएको छ। नेपाल सरकारको ११ करोड अनुदानमा निर्माण गरिएको शव गृह र विद्युतीय उपकरण आजबाट प्रयोगमा ल्याइएको हो। 
 
आजै यस उपकरणबाट केही शवको अन्त्येष्टि गरिएको छ। ८३ वर्षको उमेरमा निधन भएका भक्तपुरका चन्द्रवनमाला र ८१ वर्षीया रुपमाया ढकालको शव विद्युतीय मेसिनबाट सबैभन्दा पहिला अन्त्येष्टि गरिएको कोषका सहायक अधिकारी हरिनारायण पौडेलले जानकारी दिए। 


विद्युतीय उपकरणबाट एक पटकमा २ ढोकाबाट २ वटा शव अन्त्येष्टि गर्न सकिन्छ। एउटा शव अन्त्य गर्नका लागि ४५ मिनेट लाग्ने गर्दछ। यसको शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। पशुपति क्षेत्र विकास कोषले विशेष गुरुयोजना तय गरेर शव गृह निर्माण गरेको थियो। वातारणलाई प्रदुषणमुक्त गराउन यो उपकरण निकै महत्वपूर्ण हुने कोषको विश्वास छ।

कोषका संरक्षक तथा पूर्वकोषाध्यक्ष नरउत्तम वैद्यले उपकरणको प्रयोगबाट बागमति नदी सफा राख्न, अनावश्यक गन्धबाट मुक्ती दिलाउन र धुवाँरहित वातावरण बनाउन उपयोगी हुने बताए। एउटा शव जलाउनका लागि ६ सय ९६ भोल्ट विद्युतीय क्षमता खर्च हुने गर्दछ। 

यदि मृतकका परिवार तथा आफन्तजनले मृतकको अस्तु लिन चाहेमा त्यो पनि उपलव्ध गराउने व्यवस्था रहेको उनले बताए। यो उपकरण प्रयोगमा आए पनि दाउराबाट शव अन्त्येष्टि गर्न चाहनेका लागि सो विकल्प समेत खुला राखिएको उनले जानकारी दिए।
‘परम्परागत रुपमा अन्त्येष्टि चाहनेका लागि दाउराको प्रयोग पनि खुला रहेको छ’ उनले भने ‘तर हरेक दृष्टिकोणबाट अब विश्वमा प्रयोगमा आइरहेको यो विद्युतीय उपकरणको प्रयोग बढाउनु जरुरी छ।’

विद्युतको उपलव्धता नभएमा जेनेरेटरको समेत व्यवस्था गरिएकोले कुनै पनि अवस्थामा शव अन्त्येष्टि गर्नका लागि नरोकिने सो अवसरमा जानकारी दिइयो। 
मृतकका आफन्तले सबैभन्दा पहिला कोषले उपलव्ध गराएको फारम भर्नुपर्नेछ। अस्पतालबाट मृतक घोषित गरिएको अवस्थामा बाहेक घरमा मृत्यु भएकाको सम्वन्धमा तीन जना साक्षीको नागरिकताको प्रतिलिपि समेत उपलव्ध गराउनुपर्नेछ। 

यसैबीच केही दिनसम्मका लागि शव राख्नुपर्ने भएमा आइसमा राख्ने व्यवस्था समेत पशुपति क्षेत्र विकास कोषले अवलम्वन गरेको छ। पशुपतिमा ल्याएर कसैले आइसमा शव राख्न चाहेमा त्यो पनि उपलव्ध रहेको वैद्यले जानकारी दिए। - सेतोपाटी


No comments:

Post a Comment

Views