Tuesday, December 1, 2015

आईएसको चरम क्रूरता

आईएसको चरम क्रूरता 

मंसिर १५, २०७२- 
इस्लामिक स्टेट (आईएस) को बर्बर हिंसा बढ्दो क्रममा छ । आईएस निकृष्ट ढंगले मानव हत्यामा अग्रसर छ । हालै संयुक्त राष्ट्रसंघको कमिटीले प्रस्तुत गरेको एक प्रतिवेदनअनुसार आतंककारी संगठन आईएसले मानसिक रूपमा कमजोर बालबालिकालाई आत्मघाती हमलाका निम्ति तयार पारेको छ ।

संयुक्त राष्ट्र संघको बालअधिकारसम्बन्धी कमिटीको प्रतिवेदनमा आत्मघाती हमलाका निम्ति १८ वर्षमुनिका बालबालिकालाई बढी प्रयोग गरिएको छ । त्यसका अतिरिक्त बम–बारुद निर्माण, सूचना संकलन एवं अमेरिकी आक्रमणबाट बच्न ह्युमन शिल्डका रूपमा बालबालिकालाई अघि सारिएको छ । मानसिक रूपमा कमजोर बालबालिकालाई आत्मघाती हमलाका निम्ति पूर्ण रूपमा तयार पारेकाले आईएसविरुद्धको लडाइँ समस्यामा परेको राष्ट्रसंघका अधिकारीहरूको भनाइ छ । आईएसले बालबालिकाको शोषण एवं हत्याका निम्ति गरेका अमानवीय क्रियाकलापले अहिले सारा विश्वमा तनाव सिर्जना गरेको छ । आईएसले बालबालिकाहरूको अपहरण गरेर युद्धका निम्ति तालिम दिइरहेको बताइन्छ । इराकी बालिकाहरूलाई अपहरणपश्चात् सेक्सवर्करका रूपमा बेच्ने काम पनि वृद्धि भैरहेको छ । 

आफूलाई विश्वकै सबैभन्दा शक्तिशाली र आततायी संगठनका रूपमा स्थापित गरेको आईएस (इस्लामिक स्टेट) ले अर्को ठूलो आतंककारी संगठन अलकायदालाई पछाडि पारेको छ । अमेरिकी विदेश विभागको प्रतिवेदनअनुसार अभूतपूर्व प्रसार तथा उसको क्रूरता एवं लडाकुहरूलाई नियुक्त गर्ने क्षमताले आईएसलाई सशक्त बनाएको हो । आईएसले तय गरेको रणनीति नै अहिले अमेरिकाका निम्ति टाउको दुखाइ भएको छ, किनभने उनीहरू के–कस्तो रणनीति बनाएर अघि बढेका छन् भन्ने कुरा अमेरिकी खुफिया एजेन्सीले नै थाहा पाउन सकेको छैन ।

सन् २०१३ को तुलनामा सन् २०१४ मा आतंककारी हमला ३५ प्रतिशतले बढेको एक प्रतिवदेनले देखाएको छ । मेरिल्यान्ड विश्वविद्यालयको स्टडि अफ टेररिज्म एन्ड रेस्पोन्सेज टु टेररिज्मको राष्ट्रिय कंसोर्सियमका अनुसार यस्ता हमला पाँच मुलुक इराक, पाकिस्तान, अफगानिस्तान, भारत तथा नाइजेरियामा बढी घटेका छन् । 

नाइजेरियाको आतंकबादी गुट बोकोहराम पनि आईएसकै पथमा अग्रसर छ । ढुंगाले कुटी–कुटी मार्ने, बालबालिकालाई दास बनाउने जस्ता आईएसका गतिविधिलाई बोकोहरामले पनि पछ्याएको छ । आईएसले बालबालिकालाई युद्धमा प्रयोग गरेको उसैले सार्वजनिक गरेको भिडियो फुटेजहरूले प्रस्ट पारेका छन् । बालबालिकालाई युद्ध प्रशिक्षण दिइरहेको भिडियो सोसल मिडियामा जारी भएको थियो । उक्त भिडियोमा सिरियाको ऐतिहासिक सहर पल्माइरामा बालबालिकालाई प्रयोग गरी २५ सिरियाली सैनिकलाई गोली हानेर मारेको दृश्य पनि कैद छ । भिडियोमा सैनिकलाई घुँडा टेकाएर तल बसाइएको छ र उनीहरू पछाडि उभिएर बालबालिकाले गोली हानिरहेको दृश्य देख्न सकिन्छ । जुन समय यो भिडियो बनाइएको थियो, त्यतिबेला मानिसहरूको अत्यधिक भीड देखिन्छ । धेरै मानिसले यो क्रूर हिंसा देखेका छन् । यो हिंसाका निम्ति १२ देखि १३ वर्ष उमेरका बालबालिकालाई प्रयोग गरिएको थियो । भिडियोमा आईएसको झन्डा पनि प्रस्ट देखिन्छ । आईएसले सिरियाका थुप्रै भूभाग कब्जा गरेपछि त्यहाँका ऐतिहासिक धरोहरलाई पनि नष्ट पारिदिएको छ । अफगानिस्तान, इराक, सिरिया आदि मुलुकमा बालबालिकालाई उनीहरूकै विद्यालयमा आईएसका लडाकुहरूले सैन्य प्रशिक्षण दिन थालेका छन् । 

आईएसले पछिल्लो समयमा बालबालिकालाई शत्रुको टाउको छिनाउने प्रशिक्षण दिइरहेको छ । यसको अभ्यासका लागि उनीहरूको समूह बनाएर एउटा गुडिया र तलबार दिइन्छ । त्यसपछि उनीहरूलाई गुडियाको गर्धन छिनाउन भनिन्छ । यजिदी समुदायका अधिकांश बालबालिका गर्धन छिनाउने अभ्यासमा पारंगत भैसकेका छन् । आईएसको बन्दी बनेर भागेका एक बालकका अनुसार उनलाई १ सय २० जना योद्धा बालबालिकाको समूहमा राखिएको थियो । उनलाई पनि गुडियाको टाउको काट्न लगाइएको थियो । उनले तीनपटकको प्रयासमा पनि सही ढंगले टाउको काट्न नसकेपछि कसरी तलबार समाउने र कसरी प्रहार गर्ने भनेर लडाकुहरूले तालिम दिएका थिए ।

गत वर्ष आईएसले उत्तरी इराकको यजिदी बहुल सहर तथा गाउँमा एक्कासि धावा बोलेका थिए । यस क्रममा तमाम यजिदी पुरुषको हत्या गरिएको थियो । उक्त स्थानका युवती तथा विवाहित महिलालाई सेक्स स्लेभका रूपमा बेचिएको थियो । त्यहाँका बालबालिकालाई जर्बजस्ती इस्लाम धर्म ग्रहण गर्न लगाएपछि जेहादी लडाकुका रूपमा प्रयोग गरियो । यजिदी समुदायका बालबालिकालाई पैसा, उपहार, दबाब र ब्रेनवासको माध्यमबाट आईएसमा भर्ती गराइएको हो । एक भिडियोअनुसार ती बालबालिकालाई प्रयोग गरेर बन्दीहरूलाई गोली हान्न लगाइन्छ । हालै जारी एक भिडियोमा १३ वर्षको किशोरले सिरियाली क्याप्टेनको शिर छेदन गरेको देखिन्छ । आईएसले बालबालिकालाई सुसाइड बम्बरका रूपमा पनि प्रयोग गरेको छ । मस्जिद एवं विद्यालयमा बालबालिकाहरूलाई कट्टरबादी विचार पढाइन्छ, जसका कारण उनीहरू आफ्नै बुबाआमाको विरोधी बन्न पुग्छन् । 

आईएसको अर्को घृणित कर्तुतका रूपमा बालबालिकालाई विस्फोटक पदार्थ निर्माणको ट्ेरनिङ दिइरहेको एक भिडियो पनि सार्वजनिक भएको छ । १० जुलाईको एक घटनामा आईएस आतंककारीले विस्फोटक तालिम दिइरहेकै बेला एउटा निर्दोष बालकलाई बमले उडाइदिएका थिए । ती बालकका पितालाई उनीहरूले एक साताअघि मारेका थिए । आईएस लडाकुको मृत्युमा हात भएको भनेर उनलाई फाँसी दिइएको थियो । आईएस आतंककारीले शिशु धोकेबाजको सन्तान भएको भन्दै निर्दोष बालकको हातमा विस्फोटक सामग्री राखिदिएर दर्जनौं बालबालिकाको अगाडि पुर्‍याएर उडाइदिएका थिए । यसभन्दा अघि पाँचवर्षको एक बालकलाई लडाकुले बीचबाट काटेर दुई टुक्रा बनाएका थिए । सन् २०१३ मा चरमपन्थीहरूले कथित रूपमा सिरियाको उत्तरपूर्वमा बस रोकेपछि ४० दिनको शिशुलाई निर्मम तरिकाले मारेका थिए । 

आईएसले इराकको तिकरित सहरमा एकसाथ १७ सय मानिसको हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो । २२ मिनेटको उक्त भिडियो मानव नरसंहारको घृणित कृत्य थियो । त्यो नरसंहारपछि छेवैको एउटा नदी नै रातो बन्न पुगेको थियो । भिडियोमा आईएसका सयौं आतंककारीले मानिसहरूलाई ट्रकबाट उतारेर जमिनमा सुताएपछि लगातार गोली वर्षाएका थिए । इराकको अदालतले जनसंहारमा संलग्न २४ जना आतंककारीलाई फासीको सजाय सुनाउनेबित्तिकै आईएसले १ हजार ७ सयलाई मारेको भिडियो जारी गरेको थियो । 

छोटकरीमा आईएस
- आईएसआईएस अर्थातइस्लामिक स्टेट संसारकै सर्वाधिक खतरनाक आतंकवादी संगठनका रूपमा देखा परेको छ । आईएसले सन् २०१५ मा मात्र लेबनान, यमन, साउदी अरब, टर्की, इजिप्ट, ट्युनिसिया, कुवेत, अफगानिस्तान, इथियोपिया, लिबिया, पेरिस आदिमा हमला गरिसकेको छ । सन् २०१४ को तुलनामा आतंकवादी हमलाको संख्यामा ३५ प्रतिशतले वृद्धि भएको छ । तीमध्ये ६० प्रतिशत घटना इराक, सिरिया, पाकिस्तान, अफगानिस्तान, भारत र नाइजेरियामा भएका छन् । 

- आईएसआईएसको अर्थ इस्लामिक स्टेट इन इराक एन्ड सिरिया हो । सिरिया र इराकमा यसका समर्थक बढिरहेका छन् । यसको स्थापना सन् २०१३ अप्रिलमा भएको थियो । 

- आईएसआईएसलाई छोटकरीमा आईएस मात्र पनि भनिन्छ । सन् २०१४ को जुन २९ का दिन यसका प्रमुख अबु बकर अल–बगदादीले इराक र सिरियाका अधिकांश भागमा कब्जा गरेको घोषणा गरेका थिए । त्यसपछि उक्त क्षेत्रलाई इस्लामिक स्टेट घोषणा गरिएको थियो । 

- अबु बकर अल–बगदादीको जन्म सन् १९७१ मा इराकको सामरा नगरमा भएको थियो । बगदादीले इस्लामिक कानुन र अन्य थुप्रै विषयमा पिएचडी गरेका छन् ।

- आईएसलाई संसारकै सर्वाधिक धनी आतंकवादी संगठन मानिन्छ । यसले सन् २०१४ मा करिब एक दर्जन आयल फिल्ड कब्जा गरेको थियो । आयल फिल्ड अर्थात तेल कुवा कब्जा गरेर बेच्ने, लुट्ने, जबर्जस्ती असुली आदि यसका मुख्य आयस्रोत हुन् । 

- यसको मजबुत सरकारी संरचना पनि छ । बगदादीले इराक र सिरियामा दुई जना उप–प्रमुख पनि नियुक्त गरेका छन् र त्यसको मन्त्रिपरिषद् समेत छ । त्यसैगरी इराक र सिरियामा १२/१२ गभर्नर समेत नियुक्त गरिएका छन् । 

- आईएसले आफ्ना विभिन्न क्रूर गतिविधि भिडियोमा अपलोड गरेर युट्युब आदि सामाजिक सञ्जालमा पोस्ट गर्छ । आईएसले आफ्नो छुट्टै पत्रिकासमेत प्रकाशन गर्छ । 

- सिरियामा मात्र इस्लामिक स्टेटका १ लाख २० हजार लडाकु छन् । 

- सन् २०१४ मा मात्र यसका साथमा २ अर्ब डलरभन्दा बढी सम्पत्ति थियो । 

- एक दर्जन आयल फिल्ड कब्जा गरेका कारण आईएसको कमाइ प्रत्येक दिन ३० लाख डलर पुग्छ । 

- आईएसले १ करोड जनसंख्या भएको क्षेत्र कब्जा गरेको बताइन्छ । 

- आईएसका कारण अहिलेसम्म भएको गृहयुद्धमा ३ लाखभन्दा बढी मानिसको ज्यान गैसकेको छ ।

- अमेरिकाका साथै केही युरोपेली राष्ट्रले आईएसमाथि हमला गरिरहेका छन् । अमेरिकाले एक वर्षमा ५ हजार हवाई हमला गरेको छ । त्यसरी गरिएको हमलाबाट १० हजार आतंकवादी मारिएको अमेरिकाको दाबी छ । त्यसैगरी रूसले ४५ दिनमा ८ सयभन्दा बढी हवाई हमला गरेको छ । रुसले यसरी गरिएको हमलामा ५ सय आतंकवादी मारिएको दाबी गरेको छ ।

सन् २०१५ मा आईएसद्वारा गरिएका मुख्य हमला
- जनवरी ७ : पेरिसमा शार्ली हेब्दो पत्रिकाको कार्यालयमा हमला, ११ व्यक्तिको मृत्यु । 
- फेबु्रअरी २० : लिबियाको देर्नामा हमला, ४० व्यक्तिको मृत्यु । 
- मार्च १८ : ट्युनिसियाको एक संग्रहालयमा हमला, २२ व्यक्तिको मृत्यु । 
- मार्च २० : यमनमा १ सय ३० व्यक्तिको हत्या । 
-  मे २२ : साउदी अरेबियामा हमला, २२ व्यक्तिको मृत्यु । 
- जुन २६ : ट्युनिसियामा ३२ पर्यटकमाथि आक्रमण गरी हत्या । 
- जुलाई २० : टर्कीको एक सहरमा गरिएको हमलामा ३२ व्यक्तिको मृत्यु । 
- सेप्टेम्बर २ : यमनको राजधानी सानामा हमला गरी २० भन्दा बढी व्यक्तिको हत्या । 
- सेप्टेम्बर २४ : सानाकै मस्जिदमा हमला गरी २५ व्यक्तिको हत्या । 
- अक्टोबर ६ : यमनमा हमला गरी २५ व्यक्तिको हत्या । 
- नोभेम्बर १३ : लेबनानमा हमला, ४३ को मृत्यु ।

प्रकाशित: मंसिर १५, २०७२



Reference: 
http://saptahik.ekantipur.com/news/2015-12-01/20151201144054.html

No comments:

Post a Comment

Views