Thursday, January 21, 2016

शेयरमा लगानी गर्नुहुन्छ ? अब ईमेलमै पाइन्छ सम्पूर्ण जानकारी

शेयरमा लगानी गर्नुहुन्छ ? अब ईमेलमै पाइन्छ सम्पूर्ण जानकारी
काठमाडौं । तपाईं इण्टरनेटको पहुँचमा हुनुहुन्छ भने अब आफ्नो लगानीको पोर्टफोलियो कति पुग्यो भनेर बजार बन्द भएपछि क्यालकुलेटर थिच्नुपर्दैन । बेलैमा जानकारी नभएर हकप्रद शेयरमा आवेदन दिनै पाइन भनेर दुःखी हुनु पनि पर्दैन । शेयर बजारसम्बन्धी आफूलाई चाहिएको सूचना कहाँ खोज्ने भनेर पत्रिकाका फाइल पल्टाउने वा इण्टरनेटमा खोज्ने झञ्झटबाट पनि तपाईं अब मुक्त हुनु हुनेछ । बैङ्कहरूले ई–बैङ्किङ सेवा दिएजस्तै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका निक्षेप सदस्य (डीपी)ले पनि शेयर लगानीकर्तालाई विद्युतीय माध्यमबाटै जानकारी दिन थालेका छन् । केही महीना अघिदेखि सुमेरु सेक्युरिटिजले यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ । ‘आफ्ना ग्राहकलाई सकेसम्म बढी सुविधा दिनु हाम्रो कर्तव्य हो,’ सुमेरुका प्रबन्ध निर्देशक प्रेमकुमार अग्रवाल भन्छन्, ‘शेयर कारोबार कागजरहित डिजिटल प्रविधिमा रूपान्तरित हुने क्रम अघि बढेपछि हामीले पनि ग्राहक लगानीकर्ताको सुविधाका लागि सेवा शुरू गरेका हौं ।’
अब शेयर लगानीकर्ताले सुमेरुको डीपीअन्तर्गत हितग्राही खाता खोलेमा कम्पनीले तपाईंलाई एउटा ‘लग इन’ उपलब्ध गराउनेछ । त्यसमार्फत तपाईं आप्mनो एकाउण्टमा प्रवेश गरेर विभिन्न जानकारी पाउनु सक्नुहुन्छ । आफूसँग कुनकुन कम्पनीको कति कित्ता शेयर छ भन्ने हेर्नेदेखि यसअघि आफूले गरेको कारोबारको विवरण (स्टेटमेण्ट हिस्टोरी) हेर्ने सुविधासमेत तपाईंले यसमा पाउनुहुन्छ । बजार खुलिरहेको समयमा हरेक २ मिनेटमा तपाईंको पोर्टफोलियो अपडेट हुने भएकाले आफ्नो सम्पत्तिमा के कति फेरबदल भएको छ भनेर प्रत्यक्ष जानकारी पाउन सकिन्छ ।
यसबाहेक डीपीले शेयर बजारबारे थप जानकारीहरू तपाईंलाई ईमेल गर्ने व्यवस्था मिलाएको छ । मेलमार्फत कुन कम्पनीले कति लाभांश घोषणा ग¥यो भन्नेदेखि बूक क्लोज, साधारणसभा, नियामक निकायका निर्देशन, कम्पनीसँग सम्बन्धित सूचनासमेत ईमेलमै पाउनुहुनेछ । डीपीले नयाँ शेयरबारे जानकारी, निष्कासन प्रबन्धक र कम्पनीहरूको शेयर रजिष्ट्रार (आरटीए)सम्बन्धी विवरण पनि तपाईंलाई उपलब्ध गराउनेछ । यी सबै सूचनाले पनि तपाईंलाई सन्तुष्टि दिएन र थप केही जानकारी चाहियो भने तपाईं डीपीमा ईमेल सन्देश लेख्न सक्नुहुन्छ । यस्ता सुविधाले तपाईंलाई डायरी मेण्टेण्ड गर्ने झञ्झटबाट पनि मुक्त गर्नेछ । सँगसँगै डीपी र लगानीकर्ताबीच अन्तरक्रिया हुन सक्ने प्लेटफर्म तयार पारिएको छ ।
इण्टरनेटबाट लगानीकर्तालाई आफ्नो डिम्याट खातामा पहुँच स्थापित गर्ने काम अन्य केही डीपीले पनि गरेका छन् । तर, सूचनाहरूको दोहोरो आदानप्रदान गर्ने र पोर्टफोलियोको लाइभ अपडेट दिने सुविधाचाहिँ सुमेरुमा मात्रै छ । ‘हामी यसलाई थप सहज र सूचनामूलक बनाउन प्रयासरत छौं,’ कम्पनीका महाप्रबन्धक निरञ्जनमान जोशीले भने, ‘यसका लागि आफ्नै सर्भर राखिसकेका छौं ।’
साभार : http://www.abhiyan.com.np/

No comments:

Post a Comment

Views