Sunday, January 24, 2016

मधेसी दलको काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी


आन्दोलन गर्ने तयारी
लहान-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनले माग सम्बोधन नगरेको भन्दै काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी थालेको छ।
आन्दोलनरत अन्य पक्षसँग पनि सहकार्य गर्दै महागठबन्धन बनाएर अगाडि बढ्ने मोर्चाका नेताहरूले बताएका छन् । सोमबार मोर्चाको बैठक बसेर अबको आन्दोलनको स्वरुप, रंगेली घटना र महागठबन्धनबारे छलफल र समीक्षा गर्ने मोर्चाले जनाएको छ ।

मधेससँग काठमाडौंलाई जोडेर आन्दोलन चर्काउने विषयमा छलफल अघि बढेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । 'अब सीमानाकाको अवरोध फराकिलो र सशक्त बनाएर आन्दोलन अगाडि बढ्छ,' उनले भने । मधेससँगै पहिचानका मुद्दामा असन्तुष्ट शक्तिसँग मोर्चाबन्दी गरेर सशक्त आन्दोलन तय गर्ने उनको भनाइ छ । 'अब निर्णयक आन्दोलन हुन्छ,' उनले भने, 'सरकार र तीन दलले हाम्रो लचकतालाई ख्यालठट्टा सम्झिए ।'

संविधान जारी गर्दा जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको उनले बताए । 'यो संशोधनले मधेस आन्दोलनलाई सम्मान र सम्बोधन गरेको छैन,' उनले भने ।

निर्वाचन क्षेत्र निर्धारणबारेको संशोधनले तराई–मधेसको जनसंख्यागत अनुपातलाई सम्बोधन नगर्ने उनको भनाइ छ । 'हाम्रो माग जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हो, जसअनुसार तराईमा ८३ सिट हुन्छ, संशोधनले यो सिट संख्यालाई सम्बोधन गर्दैन,' उनले भने ।

रंगेली घटनाका घाइते र मृतक परिवार भेट्न विराटनगरमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि संशोधनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन चर्काउने बताए ।

'एउटा शब्द हटाएर अर्को शब्द थप्दैमा मोर्चाको माग सम्बोधन भयो भनी प्रचार गर्नु छल हो,' उनले भने, 'अब आन्दोलनबाटै माग सम्बोधन गराउन 'महागठबन्ध' को तयारी गर्छौं । जसमा मधेसका मुद्दा बोकेर आन्दोलनमा रहेका मधेसकेन्द्रित अन्य दल र संगठनसँग कार्यगत एकता गरेर थप उचाइमा पु¥याउँछौँ,' उनले योजना सुनाए ।

आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने प्रश्नमा महतोले भने, 'संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकबाट आन्दोलनको स्वरुपबारे निर्णय हुन्छ ।'
साभार : नागरिक दैनिक 

No comments:

Post a Comment

Views