Thursday, January 28, 2016

बैंकको ब्याजदर घटेको घट्यै, ऋण लिने छैनन्

Image result for nepal rastra bank
कर्जाको माग कम भएर बैंकमा पैसा थुप्रिएपछि अहिले बैंकहरुले निक्षेपको ब्याजदर साढे १ प्रतिशतसम्म झारेका छन्। 
 
भारतको अघोषित नाकाबन्दी र तराईको आन्दोलनले उद्योग धन्दाका क्षेत्रमा निराशा बढेसँगै कर्जा माग गर्नेहरु बैंकमा गएका छैनन्। जसले गर्दा बैंकमा ठूलो मात्रामा पैसा थुप्रिँदा ब्याजदर घट्न गएको छ। 
 
बैंकहरुले अहिले कर्जाको तुलनामा निक्षेप संलकनमा ठूलो मात्रामा ब्याज घटाएका छन्। नयाँ लगानी बढ्न नसकेसँगै मुनाफा बृद्धि गर्न बैंकले निक्षेप संकलनमा ब्याज घटाएको नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागका प्रमुख डा नरबहादुर थापा बताउँछन्। 
 
थापाका अनुसार नाकाबन्दीपछि बैंकले निक्षेपमा दिँदै आएको ब्यादजदर घटाएका छन्। मंसिर महिनासम्ममा निक्षेपको भारित औसत ब्याजदर ३ दशमलव ३७ प्रतिशत छ। तर अघिल्लो आर्थिक वर्ष २०७१/०७२ को मंसिर महिनासम्ममा भने यस्तो भारित औसत ब्याजदर ३ दशमलव ७६ प्रतिशत थियो। 
 
बाणिज्य र नेपाल बैंकले अहिले निक्षेपमा साढे १ प्रतिशत ब्याज दिइरहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बाणिज्य बैंकहरुको बचत निक्षेप ब्याजदर  साढे १ प्रतिशत देखि साढे ४ प्रतिशतसम्म छ। 
 
मंसिर महिनामा भारित औसत कर्जादर ९ दशमलव ४४ प्रतिशत कायम भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा भने भारित औसत कर्जादर ९ दशमलव ९४ प्रतिशत थियो। 
 
सानिमा बैंकका सिइओ भुवन कुमार दाहाल अहिले बैंकहरुले कर्जाको तुलनामा निक्षेपको ब्याजदर ठूलो मात्रामा घटाएको बताउँछन्। मुनाफा बढाउन बैंकले कर्जाको तुलनामा निक्षेपको ब्याजदर धेरै घटाएको उनको भनाई छ। 
 
अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा बैंकहरुको आधार व्याजदर ७ दशमलव ४४ प्रतिशत रहेकोमा अहिलेको आधार ब्याजदर ६ दशमलव ९१ प्रतिशत छ। तर २०७२ मंसिरमा वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेपबीचको औसत ब्याजदर अन्तर ४ दशमलव ४१ प्रतिशत छ। अघिल्लो वर्षको मंसिरमा यस्तो ब्याजदर अन्तर ४ दशमलव ४८ प्रतिशत थियो। मध्यमकालीन ब्याजदर अहिले घटेको राष्ट्र  बैंकको अनुसन्धान बिभागका प्रमुख थापा बताउँछन्। 
 
उनले भने ‘अहिलेको परिस्थिति देखेर देशका लगानीकर्ता आशाबादी हुन सकेका छैनन्य, यसकारण लगानीकर्ता कर्जा माग गर्दै बैंक गएका छैनन्।’ सामान्यतः बैंकको ब्याजदर घटेसँगै लगानीकर्ता आशाबादी हुने र ऋण लिनेहरु बढ्ने सिद्धान्त भए पनि हाल नेपालको सन्दर्भमा त्यस्तो नदेखिएको थापाको भनाई छ। 
 
उनले भने ‘हाम्रोजस्तो बिकासोन्मुख राष्ट्रमा ब्याजदर घटेपछि झनै लगानीकर्ताको आकर्षण बढ्नुपर्ने हो तर यस्तो हुन सकेन।’मध्यमखालको ब्याजदरमा देशको राजनैतिक स्थिति, आर्थिक बृद्धि, संभावित जोखिम र मुद्रास्फिति दरले प्रभाव पार्ने थापाको भनाई छ। मध्यम र दीर्घकालीन ब्याजदरलाई तरलताले पनि प्रभाव पार्दछ। यस खालको ब्याजदर  सबैभन्दा बढी लगानीकर्ताको आशामा भरपर्छ। 
 
नाकाबन्दीका कारण निर्माणकार्य ठप्पजस्तै भएका छन् भने केही उद्योगधन्दा सामान्य अवस्थामा मात्रै चलेका छन्। लोडसेडिङ र इन्धनको अभावले लगानीकर्ताले आफ्नो लगानीमा बृद्धि गर्न सकेका छैनन् जसकारण उनीहरुले बैंकबाट ऋण पनि लिएका छैनन्। 
 
देशमा कर्जाको मागमा बृद्धि हुन नसकेको समयमा रेमिट्यान्समा भने बृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनासम्मा रेमिट्यान्समा १९ दशमलव ४ प्रतिशतले बृिद्ध भएको छ। अघिल्लो आर्थिक वर्षको  मंसिर महिनासम्ममा रेमिट्यान्स २ दशमलव ७ प्रतिशतले मात्रै वृद्धि भएको थियो। रेमिट्यान्समा बृद्धि भएसँगै बैंकमा ठूलो मात्रामा पैसा थुप्रिएको छ। 
 
अहिले कर्जा र निक्षेपको ब्याजदर घटेको भएपनि ट्रेजरी बिल र अन्तर बैंक ब्याजदर अर्थात अल्पकालिन ब्याजदर भने बढेको छ। बजारमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले पटक पटक मौद्रिक औजार मार्फत तरलता खिचिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७२÷७३ को पाँच महिनासम्ममा २ सय ७७ अर्ब ८० करोड तरलता प्रशोचन भएको छ । विभिन्न उपकरणमार्फत तरलता प्रशोचन गर्दा  राष्ट्र बैंकले ५१ करोड ७४ लाख ब्याज खर्च गरेको छ।  
 
राष्ट्र बैंकले मंसिर महिनासम्ममा पटक–पटक गरी निक्षेप बोलकबोलमार्फत १ सय ८३ अर्ब ४० करोड, रिभर्स रिपोमार्फत ८५ अर्ब ३० करोड तथा सोझै बिक्री बोल–कबोलमार्फत ९ अर्ब १० करोड तरलता प्रशोचन गरेको छ। 
 
तरलता प्रशोचनको कारण अल्पकालीन ब्याजदर बढेको थापा बताउँछन्। ट्रेजरी बिल तथा अन्तरबैंक ब्याजदर अल्पकालीन ब्याजदरमा पर्दछन्। सन २०११ मा ३ सय ६४ दिने दिने ट्रेजरी बिलको ब्याजदर ८ दशमलव ५२  प्रतिशत थियो । तर चालु आर्थिक वर्षको मंसिर महिनामा भने यस्तो ब्याजदर ० दशमलव ९६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ६४  दिने ट्रेजरी बिलको ब्याजदर ० दशमलव ५८ थियो। 
 
त्यस्तै अहिले अन्तर बैंक ब्याजदर भने बढेको छ। गत आर्थिक वर्षको मंसिर महिनामा ० दशमलव १५ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले बढेर ० दशमलव ८२ प्रतिशत कायम भएको छ। त्यस्तै अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो आर्थिक वर्षको मंसिरमा २.४८ प्रतिशत रहेकोमा अहिले सोहि अवधिमा साढे १ प्रतिशत कायम भएको छ।
 
गत वर्षको मंसिरमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ० दशमलव १३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ० दशमलव ४८ प्रतिशत कायम भएको छ। उल्लेखनीय मात्रामा तरलता प्रशोचन भएका कारण अल्पकालिन ब्याजदर घटेको भएपनि लगानीकर्तामा देखिएको निराशापनले मध्य तथा दिर्घकालीन ब्याजदर भने घटेको छ। बिगत तीन वर्ष यतादेखि सरकारको बजेट बचतमा रहेको छ। सरकारको बजेट बचतमा रहेपछि प्रत्येक वर्ष निक्षेप तथा कर्जाको ब्याजदर समेत घट्दै गएको थापाको तर्क छ।  

साभार : सेतोपाटी 

No comments:

Post a Comment

Views