साथीभाइ सबै बाहिर हानिएपछि घरमा उनलाई पनि विदेश जानैपर्ने दवाव आयो। गएको माघमा विश्वलाल यादवले जनकपुरबाट दुवइको यात्रा गरे। दुवई नपुगेसम्म उनको नसा-नसामा थोरै काम र धेरै राजनीति दौडिन्थ्यो। ‘नेपालको पानीनै त्यस्तै छ दाजु, जताततै राजनीति,’ उनले भने, ‘हाम्रो राजनीति त कुरा मात्र छाँटन जान्ने। काम गर्न नजान्ने।’ दुवइ पुगेपछि उनको कर्म र विचार दुवै परिवर्तन भयो।
यादव तीनै ब्यक्ति थिए जो गएको महिना दुवई एयरपोर्ट हुँदै चल्ने ‘दुवइ मेट्रो’ रेलमा ‘मल अफ दुवइ’ जानेक्रममा भेट भएको थियो। एक वर्षपछि गएको साता उनी नेपाल फर्किए। फ्लाई दुवइको दाहिने तर्फको २१, २२ नं. को सिटमा बसेर काठमाडौंसम्म चारघण्टाको दूरी सँगै छिचोल्यौँ हामीले।
‘दाजु संसार त कति सानो छ है?,’ मसँग कुरा गर्दै अमेरिकातिर कृषिको सम्भावना कस्तो छ?’ भन्ने विषयवाट परिचयतर्फ लागे यादव।
उनले बत्तिस वर्षसम्म बुझेको नेपाल र एक वर्षमा बुझेको दुवइलाई यादवकै मुखबाट सुन्दा मलाई लाग्यो- विदेश जानेको लर्को देखेर देश दुःखी हुनुपर्ने होइन रहेछ। विदेशको माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले उठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र मात्र धानेको छैन। नेपालको राजनीतिलाई पनि सुधारेको छ।
‘मेरा आँखा फुटेका छन् र? अब राजनीतिमा किन लागिन्छ र दाजु! बरू आफ्नै खेतमा काम गरेर खाने हो,’ देशको गएगुज्रेको राजनीतिले दशकदेखि बिगारेको युवा मनोविज्ञानलाई इंगित गर्दै यादवले भने,‘ खाडी मुलुकमा गएर मैले बगाएको पसिना र आँशुले कमाएको मासिक ४० हजारभन्दा बढी खुसी आफूलाई परिवर्तन गर्न सकेछु।’
नेपालबाट दैनिक हजारौं संख्यामा बाहिरिने नेपाली विदेशमा सुख खोज्न हिँडेका हुन्। देशको राजनीति र पारिवारिक स्थितिले दिग्दार मानेर विदेसिएका नेपालीको अनुहारमा दुःख हेर्न मन लाग्दैन। मलाई दुःखले बाहिरिएका अनुहारमा सकभर खुसी हेर्न मन लाग्छ। त्यसैले मैले भेटेका अधिकांश पात्रहरूबारे कमै समाचार आउँछन्।
तर, नेपालको पछिल्लो यात्रामा भेटिएका यादव मेरा लागि फरक पात्र हुन्।
यादवलाई दुवइमा गरेको जस्तो दुःख जनकपुरमा कहिल्यै गर्नुपरेको थिएन। दुई केटाकेटी कसरी स्कुल जान्छन् भन्ने उनलाई केही चिन्ता थिएन। घरमा श्रीमतीले रोटीको जुवाड कसरी गर्थिन् त्यो उनले बिहे गरेदेखि बुझ्ने कोशिश गरेनन्।
बाबुले जोडेको सानो खेतबाट आएको अन्नले ‘देश खत्तम भयो, देशले हामीलाई केही गरेन’ भन्ने गुनासो मात्रै बोकेर साढे एक दशक बिताए। तर, एक वर्षअघि दुवइ पुगेका उनलाई आफू भित्र रहेका यस्ता विचार परिवर्तन गर्न समय लागेन।
‘कहिल्यै काम नगर्ने बानी बस्यो दाजु हाम्रो, अर्काको बारी हेरेर त्यसै पेट भरिन्छ र ? दुवइले बालुवामाथि हरियो उमारिसक्यो। हामीले त माटो माथि पनि हरीयो उमार्न सकेनौं।’
यादवले भनेजस्तै एक दशकको अन्तरमा दुवइले मरूभूमिको स्वरूपलाई परिवर्तन गरेर हरियाली बनाएको छ। यादवले आफ्नै आँखाले यो सब देखेर आए।
दुवइले पछिल्लो एकवर्षमा उनलाई काम र कानुनप्रति नागरिकको उत्तरदायित्वमात्र सिकाएन, नागरिककै गैर जिम्मेवारीपनले देश बन्न नसक्ने सन्देश पनि दियो।
भाषणले मात्र देश बन्ने होइन भन्ने चुरो कुरो सिक्न उनलाई एक वर्ष दुवइमा परिश्रम गर्नुपर्यो। यादव भन्दै थिए, ‘दुवइ कसरी बन्यो भन्ने कुरा सम्झिए मात्र मेरो सबै दुःख कम भएर जान्छ। सिकेर आउनेलेनै देश बनाउने हो दाजु। बाहिर नगए, हामी कहाँ सिक्ने?’
विकशित मुलुकको प्रायः एउटै सिद्धान्त हुन्छ,‘काम र कानुन।’
कुनै पनि देशको विकास गर्नुछ भने जनतालाई काममा लगाएर कानुनभित्र बाँध्न सक्नुपर्छ होइन भने देश विकासको सपना केवल सपनामै सिमित हुन्छ।
‘दुवइमा त ववाल छ दाजु, त्यो देश यसै विकास भएको होइन। काम ठग्न पाइँदैन। कानुनलाई छिसिक्क छुन पाइदैन,’ यादवले दुवइको इतिश्री सुनाइरहँदा गतवर्ष जर्मनीको फ्रयाङफोर्टस्थित गालस मेट्रो स्टेसनमा भेटिएका नेपालीलाई सम्झिएँ उनले भनेका थिए-जर्मनको पुलिससँग को निहु खोजिराखोस्। यो कानुनले चल्ने मुलुकमा हामीले काम मात्र गर्न सकेपुग्छ।
नेपालमा धुँवा र धुलो खाएर बाटोमा उभिरहने सुरक्षाकर्मीलाई मान्छेको दर्जा दिन नजान्ने नेपालीहरू अमेरिका युरोपजस्ता विकशित मुलुक पुगेपछि सडकमा राखिएका संकेतदेखि डराएर कानुनको पालना गरेको देखेको छु।
यस्तो देखेर र भोगेर स्वदेश फर्किएका नेपाली पुनः नेपाल फर्किदाँ सडकमा थुक्न र कमसेकम फोहोर फाल्न हिच्किचाउँने छन्।
दुवइमा पनि जथाभावि थुक्न पाइँदैन अब यादवले पनि जनकपुरमा जथाभावि थुक्ने छैनन्। ‘अब त मेरो सफा गर्ने बानि परिसक्यो,जनकपुरका सडक पनि सफा राख्ने कोशिश गर्छु।’
बाहिर पुगेर नेपाल फर्किएकाहरू चिसोमा कठाग्रीएर सुरक्षाका लागि बसेका सुरक्षाकर्मीको मुखमै हेरेर निहुँ खोज्दैनन् होला। ठूलो रहर गरेर पुलिसको जागिर खान पुगेका मेरा एक जना आफन्तले गुनासो गरे, ‘मापसे चेकिङ गर्न बाटोमा बसेका बेला कयौंले मुखमा थुकेर हिँडेका छन्। कुन दशाले प्रहरीको जागिर खाइएछ।’
विदेशमा पुगेर फर्किकाहरूले कमसेकम यत्ति चरित्रहिन ब्यवहार गर्दैनन्। विदेशमा गएका नेपालीले रेमीट्यान्ससँगै यस्तै ब्यवहारिक चरित्रहरू पनि बोकेर आउँछन् भने देशमा केही नभएर विदेश पलायन भयौं भन्ने कुरामा हामीलाई किन दुःख? - सेतोपाटी
No comments:
Post a Comment