अवधेशकुमार झा, डायनिया (मोरङ)
माघ ११, २०७२- साढे पाँच महिनादेखिको मधेस आन्दोलनमा उनी कहिल्यै सहभागी भएनन् । तर, गत बिहीबार घरनजिकको प्रदर्शनमा टोलका सबै गइरहँदा डायनिया ९ का शिवु माझीको मन थामिएन । अर्काकै जमिनमा ठडिएको दुईकोठे घर छाडेर उनीहरूसँगै मिसिएका माझी कहिल्यै घर नफर्किने गरी संसारबाट बिदा भए ।
उनको मृत्युको खबरयता पत्नी शिखादेवीका आँखा ओभाएका छैनन् । नाबालिका दुई छोरी वर्षा र भूमिका तथा ४ वर्षीय छोरा राहुल अझै बुबा आउने आशामा छन् । ‘बच्चाहरू केही बोल्न सकिरहेका छैनन्, श्रीमती छिनछिनमा मुर्छा पर्छिन्,’ रञ्जोदेवीले भनिन्, ‘यी लालाबालाको अभिभावकत्व मात्र नभई मुखको आहारा पनि छिनियो ।’
शिवुका बुबा काशीलाल पत्नी र कान्छा छोरासहित रोजगारीका लागि भारतको पन्जाबमा छन् । घरको आर्थिक अवस्था दयनीय भएपछि जेठा छोराबुहारीलाई घरमा राखेर काशीलाल भारततिर हानिएका हुन् । ‘कहिल्यै आन्दोलनमा जानुहुन्नथ्यो,’ पत्नी शिखा भक्कानिइन्, ‘त्यो दिन कुन काल आयो र मेरो सहारालाई सदाका लागि लगिदियो । यी तीन लालाबालालाई कसरी पाल्नु, मेरो त जीवन नै उजाडियो ।’
धार्मिक परम्पराअनुसार शवको सदगत नहुन्जेल घरमा खाना नपाक्ने चलन रहेकाले चार दिनयता चुलो बलेको छैन । छोराछोरी छिमेकीले दिएको खानेकुराले भोक मेटाउँदै आएका छन् । शिवुको शव बिहीबारदेखि विराटनगरस्थित कोसी अञ्चल अस्पतालको शवगृहमा छ ।
अर्का मृतक महादेव ऋषिदेवका परिवारको पनि उस्तै बेहाल छ । बरडंगा ३ का उनको घर ऐलानी जग्गामा बनेको छ । कुनै राजनीतिक दलका सदस्य थिएनन् । खुट्टा सुनिने समस्याले ग्रसित पत्नी सीतालाई शुक्रबार विराटनगर लगेर चिकित्सकसँग भेटाउने वाचा गरेर घरबाट निस्किएका थिए । तर, रंगेली बजारमा जुलुसमा सामेल हुँदा उनलाई गोली लाग्यो । उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भयो ।
‘गोली लाग्यो भनेर कसैले सुनाए, विश्वास लागेन,’ सीताले भनिन्, ‘गाउँका मानिसले रेडियो खोलेर समाचार सुन्दा मृत्यु भइसकेको थाहा पाएँ ।’ सद्भावना अध्यक्ष राजेन्द्र महतोसहितको टोली शनिबार उनको घरमा पुग्दा उनी पटक–पटक मुर्छित भइन् । महादेवलाई जुलुसमा नजान पत्नी र छोराछोरीले पनि आग्रह गरेका थिए । टोल, छिमेकका सबै गएर आफू नजाँदा नराम्रो भइने बताउँदै उनले मानेनन् । कौशिला र कल्पना दुई छोरी तथा दीपेन्द्र, अरुण र रविन तीन छोरा गरी पाँच सन्तान छन् । खेतीकिसानी र बनिबुतो गरेर परिवार चलाउँदै आएका थिए ।
रंगेलीकै हिंस्रक झडपमा परी बिहीबार मृत्यु भएकी द्रौपदीदेवी चौधरी छोरी भेटेर घर फर्किंदै थिइन् । त्यस क्रममा उनलाई जुलुसको रमिता हेर्न मन लाग्यो । त्यत्तिकैमा झडप सुरु भयो र अस्पताल चोकमा प्रहरीको गोली लागेर उनी ढलिन् । उनका पति जयनाथ प्रसाद राप्रपाका पुराना कार्यकर्ता हुन्, द्रौपदी भने घरव्यवहार सम्हाल्थिन् ।
‘हामीलाई साना बालबच्चा छन्, उनीहरूकै स्याहार गर भनेर घरव्यवहार गर्न दिनुहुन्नथ्यो,’ जेठी बुहारी खुस्बुले भनिन् । जयनाथको घर द्रौपदीले नै चलाएकी थिइन् । जेठा छोरा देवकुमार रंगेली नगरपालिकामा मुखिया र कान्छा हेमराज रोजगारीका क्रममा साउदीमा छन् । घरपरिवार धान्ने जग्गाजमिन भए पनि अधिकांशबाट नदी बगिरहेकाले हातमुख जोड्न वैकल्पिक पेसा अपनाउनुपर्ने बाध्यता छ । ‘जुलुस हेरेर आउँछु, जाने बेलामा तिम्रो घरमा चिया खाएर मात्र फर्किन्छु भन्नुभएको थियो,’ छोरी रीताले भनिन्, ‘तर, कहिल्यै नआउने गरी जानुभयो ।’
मृतकलाई सहिद सिफारिस
मृतकलाई सहिद घोषणाका लागि गृह मन्त्रालयसँग सिफारिस गर्ने पाँचबुँदे लिखित र एकबुँदे मौखिक सहमतिपछि शव उठाउन मधेसी मोर्चा सहमत भएको छ ।
युवा संघद्वारा रंगेलीमा आयोजित सभा बिथोल्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा तीनजनाको मृत्यु भएको थियो । रंगेली ५ की द्रौपदीदेवी चौधरी, बरडंगा ३ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीलाई सहिद घोषणाका साथै परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन गृह मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयम रायाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकमा उक्त घटनामा घाइतेको नि:शुल्क उपचारका लागि गृह मन्त्रालयमा लेखी पठाउने सहमति पनि भएको छ । यस्तै, रंगेली घटनाबारे मोर्चाले राख्दै आएको उच्चस्तरीय छानबिन टोलीको मागबारे गृहलाई जानकारी गराउने, मृतकको शव मोर्चाको रोहबरमा आफन्तले बुझ्ने तथा घटनापछि रंगेलीबाट विस्थापित भएका सर्वसाधारणलाई घर फर्किने वातावरण बनाउन सबै पक्षले सहयोग गर्ने लिखित सहमति भएको प्रजिअ रायाले जनाए । मृतकका परिवारलाई प्रशासनले किरिया खर्चबापत स्थानीय प्रशासनले २५ हजार रुपैयाँ दिने भएको छ । मृतक सबैको शव सोमबार मात्र बुझिने मोर्चाका मोरङ प्रवक्ता मोहम्मद कादिरले बताए ।
मधेसका घटना छानबिन गर्न माग
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका घटना अनुसन्धान गर्न माग गर्दै आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार उल्लंघनकर्तालाई कारबाही गर्न र पीडित परिवारलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्न आयोगलाई मोर्चाले आग्रह पनि गरेको छ ।
तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका वरिष्ठ नेता रामनरेश राय, संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र सद्भावना पार्टीका महासचिव मनीष सुमन समेतको टोलीले आयोगमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझदै आयोग अध्यक्ष अनुपराज शर्माले तराईका घटनामा अनुगमन र अनुसन्धान भइरहेको बताएका थिए । - कान्तिपुर
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका घटना अनुसन्धान गर्न माग गर्दै आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार उल्लंघनकर्तालाई कारबाही गर्न र पीडित परिवारलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्न आयोगलाई मोर्चाले आग्रह पनि गरेको छ ।
तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका वरिष्ठ नेता रामनरेश राय, संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र सद्भावना पार्टीका महासचिव मनीष सुमन समेतको टोलीले आयोगमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझदै आयोग अध्यक्ष अनुपराज शर्माले तराईका घटनामा अनुगमन र अनुसन्धान भइरहेको बताएका थिए । -
No comments:
Post a Comment