Friday, December 4, 2015

वार्ता फेरि स्थगित, मधेसी नेताहरु बालुवाटार बैठक छोडेर दूतावासमा

काठमाडौं : आन्दोलनरत मधेसी मोर्चाका नेताहरु अनुपस्थित भएपछि शुक्रबार बेलुका बालुवाटारमा हुने भनिएको मधेसी मोर्चासँगको निर्णायक वार्ता स्थगित भएको छ।
 
बेलुका पाँच बजेका लागि तय गरिएको वार्ताका लागि पौने सात बजेसम्म प्रतिक्षा गर्दा पनि मधेसी मोर्चाका शीर्ष नेताहरु उपस्थित नभएपछि वार्ता स्थगित भएको हो। मोर्चाका नेताहरुले व्यस्तताका कारण आउन नसक्ने खबर दिएका थिए। मोर्चाका नेताहरु बालुवाटार वार्ता छोडेर परामर्शका लागि भारतीय दूतावासमा गएका थिए। 

मोर्चाका नेताहरुसँग परामर्श बैठक भएको दूतावास स्रोतले पुष्टि गरेको छ। बालुवाटारमा निर्णायक वार्ताका लागि तीन दल प्रतिक्षारत रहेकै बेला भारतीय राजदूत रन्जित रेले मधेसी नेताहरुलाई परामर्शका लागि दूतावासमा बोलाएका थिए। महन्थ ठाकूर, उपेन्द्र यादवलगायतका नेताहरु दूतावास पुगेका थिए। 
 
सत्ता गठबन्धन र कांग्रेस मधेसी मोर्चाले राखेका मागमा साझा अवधारणा बनाएर निर्णायक वार्ताका लागि तयार देखिए पनि मोर्चाका नेताहरुले वार्ताप्रति उपेक्षाभाव देखाएका छन्। वार्ताका लागि प्रधानमन्त्रीले मोर्चाका शीर्ष नेताहरुलाई औपचारिक रुपमा आमन्त्रण गरेका थिए।

कांग्रेस सरकारका बेला दर्ता भएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी संविधान संशोधन विधेयकलाई अघि बढाउन, सिमांकनको विषयलाई एउटा उच्च राजनीतिक संयन्त्र वा संसदीय समितिबाट निश्‍चित अवधिभित्र टुंगो लगाउन प्रमुख तीन दलबीच लगभग साझा अवधारणा बनेको थियो।  
 
मधेसी मोर्चासँग तय भइसकेको वार्ता स्थगित भएको दोस्रोपटक हो। प्रमुख तीन दलहरुले गत बुधबार बेलुका पनि मधेसी मोर्चालाई निर्णायक वार्ताका लागि बालुवाटार बोलाएका थिए। बुधबार पनि उनीहरु अनुपस्थित रहेका थिए। यसअघि सोमबार मधेसी मोर्चाका प्रतिनिधिहरुसँग भएको छलफलका आधारमा बुधबार निर्णायक वार्ताको समय तय गरिएको थियो।
 
समय तय गरेर वार्ताका लागि पटकपटक आमन्त्रण गर्दा पनि मधेसी मोर्चाका नेताहरुले निर्णायक वार्ताप्रति देखाएको उपेक्षाभाव र उदासिनताबारे बालुवाटारमा बुधबार बेलुका तीन दलबीच छलफल भएको थियो। 
 
मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारीका लागि सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवटारमा बसेको छ। पाँच बजेदेखि तीन दलका नेताहरु बालुवाटारमा छलफल थालेका थिए। मधेसी नेताहरु नआउने भएपछि तीन दलका नेताहरु बाहिरिने क्रम सुरु भएको छ। बाहिरिएका कांग्रेस नेता शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालले मोर्चाका नेताहरु नआएकोले वार्ता हुन नसकेको बताए। 
 
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु मोर्चाले राखेका माग सम्बोधनका लागि साझा धारणा बनाउन छलफलमा बसेका हुन्। मधेसी मोर्चाले राखेका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गरिनुपर्ने, राज्यका निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र सीमांकनमा पुनरावलोकन गरिनुपर्ने मागबारे तीन दलको बैठकमा छलफल भएको छ। 
 
अहिले जारी बैठकमा प्रमुख दलहरुले साझा धारणालाई अन्तिम रुप दिने भएका छन् । तीन दलले साझा धारणा बनाएपछि मधेसी मोर्चासँग बेलुका हुने वार्तालाई निर्णायक बनाउने निचोडमा शीर्ष नेताहरु रहेका छन्। 
 
शुक्रबार बालुवाटारमा भएको तीन दलको बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह सहभागी छन् । 
 
एमालेबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष भीम रावल पनि सहभागी छन् । त्यसैगरी एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित सहभागी छन् । 
Reference:
http://annapurnapost.com/News.aspx/story/22770#sthash.TRJY2XyP.dpuf

No comments:

Post a Comment

Views