Friday, December 18, 2015

भारतले दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउँदै

पुस ३, २०७२- कञ्चनपुरको दक्षिणी क्षेत्रको दशगजा क्षेत्रमा भारतीय पक्षले वन्यजन्तु रोक्ने बहानामा एकतर्फी ढंगले संरचना निर्माण गरिरहेको छ । जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका १ बीचफाँटासँग सीमा जोडिएको दुधुवा नेसनल पार्कको घोला भन्ने ठाउँमा भारतको वन विभागले वन्यजन्तु आउजाउ रोक्ने बहानामा डोजर प्रयोग गरेर माटाको कच्ची बाँध बनाउन लागेको हो ।
भारतीय वन विभागले १९१ नम्बर सीमा स्तम्भदेखि १९४ नम्बरसम्म करिब ३ किलोमिटर लामो माटाको बाँध बनाउन थालेको हो । उक्त बाँधको उचाइ ३ देखि साढे ५ फिटसम्म छ । गत शनिबार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायका प्रमुखहरूले समेत उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा दशगजामै बाँध बनेको भन्दै भारतीय पक्षलाई भत्काउनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए ।
‘भारतीय पक्षले वन्यजन्तु रोक्नकै लागि आली खनेर उक्त बाँध बनाएको भनिरहेका छन्,’ खनालले भने, ‘हामीले तत्काल भत्काउन आग्रह गर्‍यौं ।’ उनका अनुसार उक्त बाँध दशगजा क्षेत्रमै निर्माण भइरहेको छ । उक्त क्षेत्रमा वन्यजन्तु रोक्ने नाममा वन विभागले ०६३/०६४ देखि नै माटाको आली बनाएको थियो ।
 ‘अहिले डोजर लगाएरै ठूलो बाँधजस्तै अग्लो बनाइएको छ,’ प्रजिअ खनालले भने । उनका अनुसार सीमा स्तम्भ नम्बर १९४ आसपास ५ फिटभन्दा बढी उचाइमा बाँध निर्माण गर्न थालेपछि स्थानीयवासीहरू आशंकित भएका हुन् ।
सुरक्षा निकायको टोलीले उक्त क्षेत्रमा नाप गर्दा दशगजामै डोजर लगाएर बाँध बनेको पुष्टि भएको छ । ‘दशगजा क्षेत्र सीमा स्तम्भबाट दुवैतिर ९.१ मिटर दूरीसम्म पर्छ,’ प्रजिअ खनालले भने, ‘त्यहाँ ७/८ मिटरमा बाँध बनाइएको छ ।’ उनले कुनै ठाउँमा दशगजालाई नछोए पनि अधिकांश ठाउँमा अतिक्रमण गरेर बाँध बनाएको बताए ।
 उक्त क्षेत्रमा भारतीय वन विभागले बाँध बनाइरहेको बारे यसअघि स्थानीय प्रशासन र सुरक्षा निकायसमेत अनभिज्ञ थियो । करिब १० वर्षदेखि नै वन्यजन्तु रोक्ने बहानामा दशगजामा खनेर आली बनाउने र अहिले त्यसैमा माटो थुपारेर बाँध निर्माण गर्ने काम भइरहेको हो । ‘यसअघि यसबारे हामीलाई जानकारी थिएन,’ सशस्त्र प्रहरीको सीमा सुरक्षा बल मझगाउँका एसपी तारा पन्तले भने, ‘भारतीय पक्षले हामीलाई यसबारे कुनै जानकारी गराएको पनि छैन ।’
टोलीले भारतीय वन विभागका कर्मचारी र सीमा सुरक्षा बल (एसएसबी) लाई समेत बाँध भत्काउन आग्रह गरेको जिल्ला प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले बताए । वन कर्मचारीले माथिल्लो निकायमा बाँध भत्काउन आवश्यक पहल गर्ने आश्वासन दिएको उनले बताए । ‘यसबारे एसएसबीले समेत जानकारी नभएको प्रतिक्रिया दियो,’ उनले भने, ‘हामीले दशगजा क्षेत्रमा बनेको संरचना तत्काल हटाउन आग्रह गर्‍यौं ।’
स्थलगत अनुगमनपछि माथिल्लो निकायमा समेत आवश्यक जानकारी गराइएको सुरक्षा निकायका प्रमुखहरूले बताए । उनीहरूले भारतीय पक्षले नेपाली पक्षसँग समन्वय र जानकारी बिनै बाँध बनाउनु नियम विपरीत भएको बताए । भारतीय पक्षले विगतका वर्षहरूदेखि नै सीमा क्षेत्रमा एकतर्फी ढंगले यस प्रकारका संरचना निर्माण गर्न थालेपछि यस क्षेत्रमा पटकपटक विवाद हुँदै आएको छ ।

Reference:
http://kantipur.ekantipur.com/news/2015-12-18/20151218092437.html

No comments:

Post a Comment

Views