Friday, December 4, 2015

भक्तपुरका उच्चमावि एचआईभीको जोखिममा

ईश्वरकाजी खाइजू
२०७२ मङ्शिर १६ बुधवार

सुईमार्फत लागूपदार्थ प्रयोगकर्ताको क्षेत्रमा कार्यरत युथ भिजनको अध्ययनमा यहाँका उच्च माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षा दिने कलेजका विद्यार्थी एचआईभी/एड्सको जोखिम रहेको उल्लेख छ।२८ औं विश्व एड्स दिवसका अवसरमा मंगलबार भक्तपुरका सञ्चारकर्मीका लागि भएको एकदिने कार्यशालामा युथ भिजनका वरिष्ठ कार्यक्रम व्यवस्थापक राजेन्द्र थापाले यहाँका सम्पूर्ण उच्चमाविमा लागूऔषध कारोबारीका एजेन्ट फैलिसकेको दाबी गरे। 

‘भक्तपुरका उच्चमावि र प्राविधिक कलेजमा लागूऔषधका कारोबारीका एजेन्ट फैलिसकेका छन्', उनले भने, 'तिनीहरूमार्फत कक्षा ११ र १२ पढ्ने तथा इन्जिनियरिङ पढ्ने विद्यार्थीमध्ये ६० प्रतिशतलाई लागूऔषधको लत बसिसकेको छ।'उनले सुईमार्फत लागूऔषध प्रयोग गर्नेमै एचआईभी/एड्सको संक्रमण बढी भएको बताए।
सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकामा सुईमामार्फत लागूऔषध प्रयोग गर्नेमा एचआईभी÷एड्स संक्रमणको दर ६.४ प्रतिशत छ।जिल्ला एड्स समन्वय समिति भक्तपुरको तथ्यांकअनुसार भक्तपुर एचआईभी÷एड्सको उच्च जोखिममा छ। 
 
गत वर्ष एक सय नौजना एचआईभी/एडस संक्रमित रहेकोमा यस वर्ष एक सय २८ पुगेका छन्। तीमध्ये १२ जनाले मात्रै एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) औषधि सेवन गरिरहेका छन्। बाँकी एक सय १६ जनाबाट जिल्लामा एचआईभी/एड्स संक्रमण बढ्नसक्ने खतरा रहेको समितिका संयोजक शंकर बस्नेतले बताए।
 
कार्यक्रममा फेडेरेसन अफ ड्रग डिमान्ड रिडक्सन (एफडीडीआर) का कार्यक्रम संयोजक सुजन गुरुङले भक्तपुरमा लागूऔषध प्रयोगकर्ताको संख्या अत्याधिक बढेको दाबी गरे। एचआईभी÷एडसको क्षेत्रमा कार्यरत संघसंस्था मिलेर गरिएको अनौपचारिक अध्ययनमा पाँच घरमध्ये तीन घरमा लागूऔषध प्रयोगकर्ता युवा भेटिएका छन्।
Reference:
http://annapurnapost.com/News.aspx/story/22632#sthash.yNtVvHT4.dpuf

No comments:

Post a Comment

Views