Wednesday, December 16, 2015

विवाह गर्ने उमेरमा सम्वन्ध बिच्छेद

विवाह गर्ने उमेरमा सम्वन्ध बिच्छेद

image
कविता उपाध्याय, रोल्पा । १३ वर्षको कलिलो उमेरमा बैबाहिक सम्वन्धमा बाँधिएकी भावना सुनार हाल २३ वर्षकी छिन् । यसो हेर्दा भर्खरै विवाह गर्ने उमेरमा प्रवेश गरे जस्ती देखिएता पनि १५ वर्षको उमेरमा उनी आमा बनिसकेकी हुन् । हाल उनका साथमा ८ वर्षको छोरा छ । “श्रीमानले दैनिक जसो जाँड रक्सी खाएर कुटपिट गर्ने, तथानाम गाली बेइजती गर्ने र खान लगाउन नदिने गरेपछि बाँच्न गाह्रो भयो अनि न्याय पाउनका लागि अदालतको ढोका ढक्ढक्याउन आएकी हुँ ” उनले भनिन् । “ म सानी थिएँ मैले बिबाहको बारेमा केहीपनि बुझेकै थिइन । त्यसबेला बुद्धि पुगेन । सासु ससुरा माग्न आएँ । बा आमाले पनि नजिकको केटा ंराम्रो छ छोरीले सुख पाउली भनेर बिबाह गरिदिनुभयो । तर अहिले यो अवस्थामा पुगियो ।” उनले गहभरी आसु पार्दै भनिन् । परिवारका अन्य सदस्यहरुबाट माया पाउँदै आएपनि श्रीमान्बाट रातदिन हिंसाको शिकार बन्नु परेको उनको गुनासो छ । सुनार जस्तै रोल्पा जिल्लामा कलिलो उमेरमा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका मुद्धा मध्ये सबैभन्दा बढी सम्वन्ध विच्छेदका लागि दर्ता भएका छन् । यसरी दर्ताहुन आएका मुद्दाहरु मध्ये सबैजसो मुद्धाहरु श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, कारणबस माइती जाँदा खोज खवर नगर्ने भएकै कारण पर्न आएको जिल्ला अदालतका नायव सुब्बा दामोदर दाहालले बताए ।
उहाँका अनुसार मुद्दा दिदा अंश सहितका लागि दिए पनि अंश लिएर सम्वन्ध विच्छेद गर्दा प्रकृया लामो हुने भएको हुँदा अंश तर्फ दावी छोडी छिटो छरितो र सहज रुपमा काम सम्पन्न गर्नका लागि अंश नलिई शुद्ध सम्वन्ध विच्छेद गर्ने गरेका छन् । यस विषयमा एक स्थानीय समाजसेवी भन्छन् कानूनी प्रकृयामा पुग्नु भन्दा अगिाडि नै गाउँघरमा केही रकम वा जिन्सी सामान लिएर सम्पूर्ण प्रकृया मिलाई केवल बैधानिक रुपमा छुटापत्रका लागि मात्र कानूनी प्रकृया अपनाउने गरेको हुँदा ९० प्रतिशत महिलाहरु अंश विना नै सम्वन्ध विच्छेद गर्न बाध्य भएका छन् ।
यस्तै दाहालका अनुसार अशिक्षा र चेतना अभावका कारण कम उमेरमा विवाह गर्ने र बैबाहिक सम्वन्धमा बाँधिएको छोटो समयमै बैदेशिक रोजगारीका लागि श्रीमान् बाहिरिनु पर्ने र घरमा रहेकी श्रीमती पनि परपुरुषसंग घुलमिल वा लसपस गर्ने, घरै छोडेर हिड्ने भएका कारण पारिवारीक रुपमा मन मुटाव भई सम्वन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको उनको भनाइ छ । कतिपय अवस्थामा घरमा संगै भएका श्रीमान्ले पनि अनियन्त्रित मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने भएकै कारण सम्वन्ध विच्छेदका घटनाहरुमा बृद्धि हुदै जानकारहरु बताउछन् ।
Reference: hamrakura

No comments:

Post a Comment

Views