Friday, December 4, 2015

मोर्चाका नेता वार्ताबाट भगे पनि तीन दलले बनाए साझा प्रस्ताव


मधेशी मोर्चाका नेताहरु वार्ताबाट सहमति खोज्नुको साटो भारत गुहार्नतिर लागेका भए पनि प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले मधेसी मोर्चासँग निर्णायक वार्ता तथा सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन् ।
बालुवाटारमा मोर्चासंगको वार्ता भाँडिएपछि बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले तीन बुँदे अवधारणा पारित गरेको हो ।
तीन बुँदेमा समानुपातिक समावेशी सहभागिता र निर्वाचन क्षेत्र निर्धारणका सम्बन्धमा संसद्मा दर्ता भएको विधेयकलाई अघि बढाउने, प्रदेशको सिमांकन सम्बन्धमा छलफल तथा राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने र त्यसका लागि राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने र आन्दोलन फिर्ता लिन सम्बन्धित दलहरुलाई आग्रह गर्ने उल्लेख छ ।

यही तीन बुँदे सहमतिका आधारमा तीन दलले मधेसी मोर्चासँग निर्णायक वार्ता गर्नेछन् । तीन दलको तीनबुँदे प्रस्ताव यस्तो छ-

१. समानुपातिक समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संबिधानमा संशोधनका निमित्त संसदमा दर्ता भएको संशोधन विधेयकलाई संशोधनार्थ प्रक्रिया अघि बढाउने ।
२. प्रदेशको सिमाङ्कनका सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा संबिधानमा व्यवस्था गर्ने, त्यसका लागि राजनीतिक समिति गठन गरी तीन महिनामा टुङ्गो लगाउने ।
३. आन्दोलनरत दलहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन आह््वान गर्ने ।

Reference:
http://www.nepaljapan.com/

No comments:

Post a Comment

Views